जनकपुरधाम, २६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अभियान थालेका राजेन्द्र महतोले नयाँ बनेको गठबन्धन सरकारबाट जनताले केही पनि नपाउने टिप्पणी गर्नुभएको छ ।
शनिबार उद्योग वाणिज्य संघ जनकपुरधाममा आयोजित राष्ट्रिय मुक्ति क्रान्तिको बृहत् संवादात्मक कार्यक्रममा सहभागी हुनजान लागेका महतोले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो टिप्पणी गर्नुभएको हो ।
नयाँ गठबन्धन सरकारले जनताको इच्छा आकांक्षा पूरा नगर्ने उल्लेख गर्दै उहाँले नयाँ बनेको सत्ता समीकरणको सरकार कुर्सीको हेराफेरि र भाग मिलाउनका लागि मात्रै भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो पालैपालो लुटतन्त्र मच्चाउनले कुर्सीको खेल मात्रै हो । यो वा पहिलो जुनसुकै गठबन्धन सरकार आएपनि जनताले केही पाउने होइनन् । उनीहरुबाट विकास हुने होइन । लुटतन्त्र र भ्रष्टाचार चल्ने मात्रै हो । त्यसकारण यो सत्ता समीकरणबाट बनेको सरकारबाट जनताले केही पाउँदैनन् ।’
मधेसवादी दलहरुमा एकताबद्ध हुन नसकेको र महतो आफैँ कही टिक्न नसकेको सञ्चारकर्मीको जिज्ञासामा महतोले स्वार्थको लागि मधेसवादी दलहरु फुट्ने र जुट्ने प्रकिया चलिरहने बताउनुभयो ।
मधेसवादी दलहरु एक्लाएक्लै लडेकाले अधिकार र पहिचानवादीहरुको आन्दोलन सफल हुन नसकेको बताउनुभएकाका उहाँले मधेसमा भएका सबै आन्दोलनको संयुक्त रुपमा राष्ट्रिय मुक्ति क्रान्तिलाई अघि सारेको र त्यसले बहुलराष्ट्रिय राज्य स्थापना गर्ने जिकिर गर्नुभयो ।
‘अधिकार, पहिचानको कुनैपनि आन्दोलन हामी एक्लाएक्लै लडेकाले सफल भएन । सम्पूर्ण अधिकार पहिचानवादीको लागि अब राष्ट्रिय मुक्ति क्रान्तिको नेतृत्वमा एकीकृत आन्दोलन गर्नुपर्छ । मधेस, थरुहट आन्दोलन, जनजाती अन्दोलनलगायतका सबै आन्दोलनको संयुक्त रुप भनेको राष्ट्रिय मुक्ति क्रान्ति हो र यसले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गर्छ’, महतोले भन्नुभयो ।