काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ ।
२१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।
प्रधानमन्त्री दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट (सोमबारको बैठकमा) विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । सो बारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।