मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन : ‘फसाउलान्, होस गर्नु !

89

काठमाडौंँ, २५ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिनुभएको छ । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिनुभएको हो ।

करिब एक घन्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भन्नुभयो,‘फसाइदेलान् होस् गर्नु । सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो । सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ ।’ अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्वन्द्वात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भएपनि हामी एक भएका छौँ । प्रचण्डजी र सरकारको सफलता नै हाम्रो सफलता भएको हो । हाम्रो सफलता नै प्रचण्डजीहरुको सफलता हो ।’

निर्देशन दिने क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डसँग सजग रहेर काम गर्न पनि भन्नुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको कार्यशैली र विशेषताबारे पनि मन्त्रीहरु समक्ष वयान दिएको एमालेका एक नेताले जानकारी दिनुभयो । ओलीले भ्रष्टाचार, अनियमितताबाट टाढै रहन र मिडियामा आएका अतिरन्जित समाचारबाट जोगिएर काम गर्न पनि भन्नुभएको छ ।

सरकारमा एमालेबाट रघुवीर महासेठ नेतृत्व गर्नुभएको छ । उहाँ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनुभएको छ । त्यस्तै, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् ।

त्यस्तै, राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नुभएको छ भने दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपन्क्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...