कानुनी राज्यको स्थापनाका लागि गृहमन्त्रालय रोजेको हुँ : रवि लामिछाने

37

काठमाडौँ, २४ फागुन । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले देशभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता गरि जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

बुधबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै लामिछानेले निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्णयलाई निरन्तरता दिँदै ७७ वटै जिल्लामा मासिएको सरकारी जग्गा फिर्ता गरि सो कार्यमा संलग्नलाई कारबाही गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले गर्ने निर्णयले समाजमा कुनै न कुनै प्रभाव पार्छन् । यसअघि नै निर्णय भएको छ । कसैले अनधिकृत रूपमा देशको जग्गा, सरकारको जग्गा, सरकारको सम्पत्ति हडपेर बसेको छ भने, त्यसलाई निर्ममभन्दा निर्मम कारबाही गर्न म निर्देशन दिन चाहन्छु र त्यो जग्गा तत्काल फिर्ता गराउने प्रतिबद्धता जनाउँछु ।’

लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभइ फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार दाबी गर्नुभयो ।

उहाँले त्यस अवसरमा आफ्नो कुनै पनि दबाब र प्रभावमा नपरी कानुनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री लामिछानेले कानूनी राज्य स्थापना गर्ने सिलसिलामा कुनै पनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो ।

उहाँले आफ्नो नभइ आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...