वास्तविक भूमिपुत्रले सुदूरपश्चिम सरकारको नेतृत्व गर्नुपर्छ : रेशम चौधरी

62

काठमाडौँ, २३ फागुन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताउनुभएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।

नाउपाको केन्द्रीय समितिको बैठक दुई दिनदेखि बसेर सकिएको उहाँले बताउनुभयो । नेता चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताउनुभयो । ‘यो सत्ता गठबन्धनको सरकारमा धेरै विचार पुर्याएर मात्रै सहभागी हुनुपर्छ । हामी सानो पार्टी । हामी पर्खिन्छौँ । हामी गहिराइको मापन गर्ने बेला भएको छैन,’उहाँले भन्नुभयो ।

साथै, सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर आफूहरुले बार्गेनिङ नगरेको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सरकार बार्गेनिङ नभएर आफूहरुको अधिकार भएको बताउनुभयो । आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि उक्त प्रदेशमा दाबी रहेको बताउनुभयो । वास्तविक भूमिपुत्रले उक्त प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताउनुभयो । साथै, उहाँले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताउनुभयो । नेता चौधरीले टीकापुर विद्रोहमा थारुहरुलाई बदनाम गराइएको बताउनुभयो ।

‘ती परिवारलाई न्याय दिनका निमित्त विगतदेखि वर्तमानसम्म हामी प्रतिवद्ध छौँ । अझ हामी भन्न चाहन्छौँ टीकापुर विद्रोहमा थारुहरु बदनाम भए, थारुहरुलाई हत्याराको लोगो लगाइदियो,’ उहाँले भन्नुभयो, ‘तर, थारुहरुको निवेदन राज्यले स्वीकारेन । त्यही निर्वाचन आयोगले रेशमलाल चौधरीको मनोनयन स्वीकार गर्यो । तर, प्रमाणपत्र दिएन । न्यायलयले पनि मेरो मुद्दालाई दरपीठ गरिदियो ।’

टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उहाँको भनाइ छ । उक्त घटनामा धेरै थारुहरुको कानको जाली फुटेको, धेरै चेलीबेटी हिंसामा परेको र सयौंलाई झुठा मुद्दा लगाइएको उनको आरोप छ । ‘टीकापुर घटनाबाट पीडित सयौं बुबाआमाहरुको कानको जाली फुटेको छ । सयौं चेलीबेटीमाथि हिंसा भएको छ । सयौंमाथि झुठा मुद्दा लागेको छ । सुरक्षाकर्मीको परिवारले पनि न्याय पाउनुपर्छ । त्यसको समाधान राज्यले गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...