गठबन्धन बन्नु, तोडिनु सामान्य तर हिजोको घटना असामान्य : नेता कोइराला

93

विराटनगर, २२ फागुन । नेपाली कांग्रेसका नेता तथा मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले विगतमा भएको गठबन्धन पार्टीलाई महँगो साबित भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले आज बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)लगायत सम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।

राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भए भनी सोमबारको घटना सामान्य नभएको उहाँको भनाइ छ ।

‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन,’ उहाँले फेसबुक र (एक्स) ट्विटरमा लेख्नुभएको छ, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’

नेता कोइरालाले सत्ता गठबन्धन तोडिनुमा कांग्रेसका नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशङ्का समेत व्यक्त गर्नुभएको छ ।

‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ,’ उहाँले लेख्नुभएको छ ।

माओवादी केन्द्र र अन्य दलहरुसँग गठबन्धन गर्नेबारे कोइराला पहिलेदेखि नै असन्तुष्ट रहँदै आउनुभएको थियो ।

उहाँले निर्वाचनअघि गठबन्धन गरिनु नहुने धारणा राख्दै आउनुभएको थियो ।

निर्वाचनपछि त्यसको परिणामका आधारमा सरकार गठन र सञ्चालनका लागि गठबन्धन गर्नेबारे सोच्न सकिने भन्दै उहाँले निर्वाचनमा भने पार्टी एक्लै जानुपर्नेमा जोड दिँदै आउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...