जनकपुर, २० फागुन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैं भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताउनुभएको छ ।
आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुग्नुभएका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्तागठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गर्नुभएको हो ।
गठबन्धन भित्रको तमासा आफूहरुले हेरिरहेको भन्दै पौडेलले भन्नुभयो, ‘यो गठबधन आफैँ भित्रका समस्या र अन्तरविरोधहरुले चर्मराइरहेको छ, कुनै पनि बेला यो टुट्न सक्छ, फुट्न सक्छ ।’ तर, उहाँले गठबधन फुटाउन एमालेले चासो नदिएको जिकिर गर्नुभयो ।
सत्ता गठबधन फुटिहाले एमालेले काँध थाप्छ कि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भन्नुभयो, ‘के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुन रुपमा अगाडि बढ्छ हेरौँ न,’ पौडेलले भन्नुभयो ।
पौडेलले देशको विकासको बाधक नै अहिले गठबधन बनेको टिप्पणी गर्नुभयो । ‘यो देशको अग्रगति र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ,’ उहाँले भन्नुभयो ।