पूर्वसभामुख सापकोटाको टिप्पणी : ‘विचारको रिक्तताले संसद्को स्तर खस्कियो’

20

काठमाडौँ, १९ फागुन । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सबभन्दा राम्रो देखिनुपर्ने संसद्को स्तर दिन प्रति दिन खस्किँदै गएको भनेर आलोचना गर्नुभएको छ ।

‘विचारको शून्यताका कारण संसद्‌मा अराजकता बढेकाले दिन प्रति दिन संसद् खस्किँदै गएको छ,’ पूर्वसभामुख सापकोटाको टिप्पणी थियो ।

शनिबार माओवादीको मुख्यालयमा रिटर्नी सेन्टर नेपालको प्रथम बागमती प्रदेश सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘अहिले देशमा विकृति विसंगति र अराजकता बढेको छ, देशको संसद्‌मा समेत अराजकता देखिन्छ । यसको पछाडिको मुख्य कारण विचारको विकास नहुनु, विचारको रिक्तता, विचारको शून्यता नै हो जसले लोकतन्त्र कमजोर भइरहेको छ । लोकतन्त्र त सबभन्दा बलियो हुनुपर्ने संसद्मा पनि अराजकता छ नि तपाईंहरूले पनि देख्नुभएको होला सबभन्दा राम्रो देखिनुपर्ने संसद् सबभन्दा नराम्रो देखिन्छ । त्यहाँको स्तर दिन प्रति दिन खस्किरहेको छ ।’

माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका सापकोटाले अहिले देशको परिवर्तनको नेतृत्व गर्ने पार्टी माओवादीको विरुद्धमा विभिन्न खालका भयानक जालझेलहरु भइरहेको बताउनुभयो । फेरि एकपटक भयानक आँधी तुफान र भारी वर्षाका बीचमा पनि शक्तिशाली भएर उभिन उहाँले सबैलाई अपिल गर्नुभयो ।

सापकोटाले भन्नुभयो, ‘अहिले भएको यो परिवर्तनका विरुद्धमा परिवर्तनको नेतृत्व गर्ने पार्टी र त्यसको नेतृत्वको विरुद्धमा भयानक ठूला षड्यन्त्रहरु हुँदैछन् । त्यसैले अपिल गर्छु फेरि हामी एकपटक त्यो भयानक आँधी तुफान र भारी वर्षाका बीचमा पनि शक्तिशाली भएर उभिने खालको मान्छे बन्नुपर्छ ।’

आफूलाई चिन्ने कुरा सबैभन्दा कठिन रहेको भन्दै अरु रूपान्तरण भए कि भएनन् भन्दा पनि म रूपान्तरण भएँ कि भइनँ भन्ने कुरा सोच्नेर आत्मसुधारमा लाग्नुपर्ने उहाँको सुझाव छ ।

Share This:
सम्बन्धित खबर
Loading...