सहिदका बलिदानको ऋण तिर्न सकिँदैन : उपराष्ट्रपति यादव

18

काठमाडौँ, १६ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहिदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् ।

सहिद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले त्यसो गर्न सके मात्रै सहिदहरुले दिनुभएको बलिदानका कदर हुने बताए ।

अमर सहिदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख गर्दै उपराष्ट्रपति यादवले वीरसहिहीदहरुको सपना र आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सबैले दृढ सङ्कल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति यादवले महान् सहिदको बलिदानबाट प्राप्त उपलब्धिहरुको माध्यमबाट मुलुकको दिगो शान्ति, सुशासन, विकास, सबलीकरण, समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्ने बताए । उनले नेपालजस्तो विविधतामा एकताको धनी र संस्कृति सम्पन्न मुलुकमा समय–समयमा कुनै न कुनै महापुरुषले जन्म लिई देशको सुरक्षा, लोकतन्त्र, समावेशिता र पहिचानका लागि आफ्नो ज्यानको आहुति दिएको स्मरण गरे ।

उपराष्ट्रपति यादवले कुनै कारणबाट देशका महान् मार्गदर्शक, वीर सपुत र वीरङ्गनाहरु टाढिए पनि स्वाधीनता, अखण्डता, सार्वभौमिकता, सुरक्षाको महान् दायित्व सबै देशभक्तलाई सुम्पिएर गएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...