काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढंगबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले झुठो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए ।
पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र नरूचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरूद्ध अनर्गल, कपोलकल्पित र झुठो प्रचार गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रामक सूचनाका विरूद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे । प्रधानमन्त्रीका रूपमा आफूले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको बताए ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा आफूले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु सम्मेलनका क्रममा थाहा पाएको र सो सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
अस्वाभाविक देखिएको एनसेल खरिद बिक्रीको संवेदनशीलता र गम्भीरतालाई हेरेर आफूले गठबन्धनभित्र पनि छलफल गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “सेयर खरिद बिक्रीमा कैफियत छ, छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ, राष्ट्र, जनता र मुलुकको अर्थतन्त्रका पक्षमा दृढतापूर्वक अगाडि बढ्नुपर्ने प्रस्ताव राखेँ ।” सो सेयर खरिदबिक्री सम्बन्धमा सरकारले अनुसन्धान गर्नुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताए ।