लोकतान्त्रिक आचरण र प्रणाली बलियो बनाउन संकल्प यात्रा : ओली

41

कास्की, २१ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरू गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन् ।

अभियानका क्रममा आज साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताउँदै भने, “मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो संकल्प यात्रा हो । यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौँ ।”

अध्यक्ष ओलीले अभियानका क्रममा देशका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गरेर जनताका समस्या र विकास निर्माणका आवश्यकताका बारेमा जानकारी लिने काम गरिरहेको बताए ।

“देशभरिका जनतासँग प्रत्यक्ष भेटेर अब विकास कसरी गर्ने, कहाँको समस्या के छ ? भनेर तीन हप्ताको लगातारको यात्रा प्रारम्भ गरेका छौँ । एमालेप्रति जनताको आशा, विश्वास र भरोसा छ । त्यो भरोसा हामी टुट्न दिने छैनौँ, कायम राख्ने छौँ,” अध्यक्ष ओलीले भने ।

उनले एमाले सरकारमा पुगेर जनतालाई सुखी र खुसी बनाउन सम्भव छ भनेर प्रमाणित गरेको समेत बताए । अध्यक्ष ओलीले आगामी दिनमा पार्टीले समाज परिवर्तनको नेतृत्व गर्ने उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...