स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

40

खाँदबारी, ११ मंसिर । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।

यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्याला मजदुरी गरी जीविका चलाइरहेका नागरिक घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुसी व्यक्त गरेका छन् ।

जिल्लामा एक सरकारीसहित तीन अस्पताल छन् । जिल्ला अस्पताल सङ्खुवासभामा विशेषज्ञ सुविधा पनि छ । तर, दुर्गम बस्तीको स्वास्थ्य अवस्था भने निकै नै कमजोर छ । भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांश नागरिकलाई साँझ–बिहानको छाक टार्न नै मुस्किल हुने गरेको छ ।

जग्गा–जमिनमा उब्जनी गरेको खाद्यान्नले उनीहरूलाई छ महिना पनि खान पुग्दैन । गाउँपालिकाले दुई वडामा राखेको विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार २४८ नागरिकले स्वास्थ्य सेवा लिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । दुर्गम गाउँमै स्वास्थ्य सेवा र औषधि पाएपछि पैदल चारदेखि पाँच दिन लगाएर सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यता हटेको भोटखोला–४ सिप्रुङका ७८ वर्षीय सिनेन लामाले बताए । घर–आँगनमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी लागेको स्थानीय लामाले बताए ।

चीनको तिब्वतसँग सिमाना जोडिएको भोटखोला नागरिक उपचारका लागि सदरमुकाम आउन पैदल चारदेखि ५ दिन लाग्ने गर्दछ । भौगोलिक रुपमा निकै विकटता भएको भोटखोलामा विषेशज्ञसहितको सेवा पाउनु निकै महत्वपूर्ण उपलब्धि भएको सङ्खुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले बताए । दुर्गम गाउँमा विषेशज्ञसहितको शिविर सबै स्थानीय तहले राख्नुपर्ने स्थानीयवासीको माग छ ।

भौगोलिक विकटता र विपन्नताका कारण औषधि उपचार नगर्नेले फाइदा पाउने प्रदेशसभा सदस्य कार्कीले बताए । विपन्नको लागि स्वास्थ्य, नेपाल घुन्सा फाउण्डेसन काठमाडौँको सहयोग तथा भोटखोला गाउँपालिकाको आयोजनामा विभिन्न वडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष भोटेले बताए । काठमाडौँ वीर अस्पताललगायत अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिएको उनको भनाइ छ ।

विशेषज्ञ स्वास्थ्य शिविरमा भिडियो एक्सरे, यौन तथा प्रजनन् स्वास्थ्य, बाल रोग, नाक, कान, घाँटी, मुटु रोगसहितको सेवा दिइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...