श्रीमतीको हत्या गरी आत्महत्या

21

बनियानी, ७ मंसिर । झापाको भद्रपुर नगरपालिका–१ स्थित पृथ्बीनगरमा श्रीमतीको हत्या गरी श्रीमान्‌ले झुन्डिएर आत्महत्या गरेका छन् ।

भद्रपुर–१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासले समेत झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

आज बिहान स्थानीयवासीले उनीहरू मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । “दिनहुँ मादक पदार्थ सेवन गरेर श्रीमान्–श्रीमतीले झगडा गर्ने गरेको आफन्त र छिमेकीबाट बुझिएको छ,” उनले भने, “सोही विषयमा हिजो राति झगडाका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको प्ररम्भिक अनुसन्धानबाट देखिन्छ ।”

डिएसपी रिजालका अनुसार श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रूखमा झुन्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले भने, “शव परीक्षणका लागि पठाएका छौँ । रिपोर्ट आएपछि थप जानकारी आउँछ ।”

सुवासको चप्पलमा श्रीमतीको फोटोसमेत भेटिएको डिएसपी रिजालले बताए । उनीहरूका ३ छोराछोरी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...