सहकारीका सदस्यहरू : सदस्य जस्तै कहिले बन्ने ?

43
  • प्रतिमान पौडेल

यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरू वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन ८४ को हावाले छोइसकेको छ ।

मुलुक टाट पल्टिन लागि सक्यो, यिनलाई भने सत्ताकै मात्र चिन्ता छ । सत्तामा गएर केही खोज्यो भने पनि गर्नेलाई गर्न नदिने हाम्रो मुलुकको दुर्भाग्य बन्दै आएको छ । हाम्रो निर्वाचन प्रणाली पनि ठिक छैन, कसैको बहुमत आउने अवस्था छैन । त्यसै कारण गठबन्धन बन्छ, गठबन्धन भनेको स्वार्थ समूह हो । हामी जनता पनि उस्तै हौ, एउटा पार्टीलाई बहुमत नदिने, सबैलाई भोट बाँड्ने अनि यस्तै गठबन्धनको सरकार नभएर के हुन्छ ? यस्तो सरकारबाट मुलुकको उन्नति प्रगतिको अपेक्षा कसरी गर्ने ?

सबै मिलेर वित्तीय संकट समाधानका लागि लाग्नु पर्ने अहिलेको समय हो । यद्यपि, दलहरूका बीचमा मुलुकको वित्तीय संकट प्राथमिकतामा परेको देखिँदैन । वित्तीय संकटले देशका विभिन्न क्षेत्रलाई प्रभावित बनाएको छ ।

वित्तीय संकटको बाछिटोले सहकारी क्षेत्रलाई पनि अलमलाएको छ । वित्तीय संकटसँगै सहकारीका साहुकारीहरूले गर्दा पनि सहकारीलाई उल्झनमा पारेको छ । सहकारीको ब्यानरमा साहुकारी योजना चलाएका स्वनामधान्य साहु महाजनहरुले सहकारीको गर्नु बदनाम गरेका छन् । सहकारीका नाममा आममानिसलाई विभिन्न प्रलोभन देखाएर आमजनताको पैसा बटुल्ने र त्यो पैसाले निजी बंगाला, कम्प्लेक्स, डिपार्टमेण्टल स्टोर, हाउजिङलगायतका सम्पत्ति जोड्ने साहुकारीहरुका कारण आज सहकारी क्षेत्रको साख दिन प्रतिदिन कमजोर हुँदै गएको छ ।

राज्यले बनाएको कानुनले ती साहुकारीहरुलाई छुन सकिरहेको छैन । नगरपालिकाको बहालवाला मेयरले दिनदहाडै जनताका आँखामा छारो हालेर बेपत्ता हुन्छ, राज्यको कानुनले उसलाई फेला पार्न सक्दैन । ढोरपाटन नगरपालिका बागलुङका मेयर देव कुमार नेपालीले विभिन्न खालका प्रलोभन देखाएर पैसा जम्मा गर्छन् र त्यो पैसा आफ्नो नाममा जग्गा खरिद र भवन निर्माणमा लगाउछन्, सदस्यहरू बचत फिर्ताका लागि जाँदा लगानी देखाउन सक्दैन, अघिल्लो दिनसम्म आफैँ अध्यक्ष भएका नेपालीले संकट आएपछि अर्को व्यक्तिलाई कार्यवाहक दिन्छन् र उम्कन खोज्छन् । संस्थामा समस्या आएपछि उनै कार्यवाहक अध्यक्षको नामबाट सूचना जारी गर्छन् र उम्कन खोज्छन् ।

सहकारी अभियानका अगुवाहरुको निकै ठुलो दबाबपछि बल्ल उनले आफ्नो निजी सम्पत्ति बेचेर बचत फिर्ता गर्छु भन्ने प्रतिवद्धतासहितको वक्तव्य निकालेको चर्चा व्यापक छ । त्यो मात्रै होइन, उनको नामबाट जारी भएको वक्तव्य सहकारीकर्मीमध्येकै एकजनाले बनाएर पठाइदिएको र उनले निकालेको पनि चर्चा छ । त्यो वक्तव्यका विषयमा पछि केही पीडितहरुसँग कुरा गर्दा उनले मलाई यस्तो विज्ञप्ति निकाल्न लगाएर फसाइयोसम्म भन्न भ्याएको पनि पीडितहरुले बताउने गरेका छन् ।

जेठ ५ गतेदेखि देवकुमार नेपाली बेपत्ता भएका हुन्, उनी बेपत्ता भएको ६ महिना पुग्यो । एउटा मेयर जस्तो मान्छे ६ महिनासम्म बेपत्ता हुँदा पनि हाम्रो सत्ताले फेला पार्न सक्दैन । उनको अनुपस्थितिमा ढोरपाटन नगरपालिका चलिरहेको छ । कार्यवाहक पाएका विपक्षीहरू पनि मख्ख नै छन् । गठबन्धनवालाहरूले कार्यावाहक पाएपछि त्यसैलाई उपलब्धि मानेर बसेका छन्, मेयर बेपत्ता भएको विषयमा कसैको चासो, चिन्ता देखिँदैन । सर्वसाधारणले खाइ नखाई गरेको रकम भुक्तान गर्ने योजना राज्य बनाउँदैन । उसको अरबौँको सम्पत्ति छ, उ बेपत्ता भएका कारण आज बागलुङ र कास्कीका जनताले देव कुमार नेपालीलाई सराप्दै दिन कटाउनु पर्ने अवस्था छ । कतिलाई डिप्रेसन भएको छ, कतिको परिवारमा कचपच बढेको छ ।

राष्ट्रिय सहकारी बैंकले नेपालीको करिब २ अर्बको सम्पत्ति दृष्टिबन्धक गरेर २५ करोड ऋण दिएको रहेछ । बैंकले लिलामी निकालेको छ, लिलामी गरेर अर्कोले जग्गा लग्यो भने पीडितलाई कसरी न्याय हुन्छ ? वा कसैले पनि लिलाम स्वीकार गरेनन् भने बैंकले नै सम्पत्ति लियो भने के हुन्छ ? यस्तो संवेदनशिल विषयमा राज्यको मौनता झन हेर्न लायक छ ।

देव कुमार नेपाली मात्र होइन, यस्तै प्रवृतिका सयौँ सहकारीले सदस्य केन्द्रित भएर कारोबार गरेका हजारौ सहकारीलाई अप्ठेरोमा पारेका छन् । सहकारीको विश्वास कम भएको भन्दै सदस्यहरू धमाधम आफ्नो पैसा फिर्ता लिन गइरहेका छन् । बचत गर्नेभन्दा पैसा फिर्ता लैजाने बढी भएपछि सहकारीहरूलाई तरलता व्यवस्थापन गर्न निकै नै सकस पनि भएको छ ।

सदस्यहरु पनि कस्ता छन् भने सहकारीलाई जस्तो सुकै समस्या आओस् आफ्नो पैसा फिर्ता गर्न खोज्छन्, सबै सदस्यहरु एउटै समयमा पैसा फिर्ता लिन गएपछि सहकारीले पैसा फिर्ता गर्न सक्दैन, अनि सदस्य, मिडिया र सहकारी विरोधीले सहकारीले पैसा फिर्ता गर्न नसकेको कुरालाई व्यापक बनाउछन्, थप सदस्यहरु लाइन लाग्न पुग्छन्, आन्दोलन हुन्छ, सञ्चालकहरु भाग्छन्, अनि वचतकर्ताहरु थप पीडामा पर्छन । सञ्चालकहरुले संस्था चलाउने समयसम्म सदस्यहरुले दवाव दिन्छन्, जब भाग्छन् अनि फेरि लौन सञ्चालकहरुलाई खोजिदेउ भन्दै पीडित संघर्ष समितिका नाममा आन्दोलन, नेताहरूको घरदैलो र दवाव, धर्ना सुरु हुन्छ ।

देव कुमार र उनी जस्ता बद्‌मासहरुले गर्दा यो सबै भएको हो भन्न हिच्किचाउनु पर्ने अवस्था छैन । सहकारीमा सदस्यहरुले बचत गर्छन्, भएकाहरुले वचत गर्छन् आवश्यक पर्नेहरुले ऋण लैजान्छन्, बचत आइरहने, ऋण उठिरहँदा वचत फिर्ताको काम पनि नियमित नै थियो । जब सहकारीमा समस्या देखियो तब बचत आउने क्रम कम भयो, बचत नआउने, ऋण पनि भनेको समयमा नउठ्ने तर बचत फिर्ता भने दिनदिनै बढी बढी गर्नु पर्ने अवस्था आएपछि धेरै सहकारीहरुलाई समस्या सिर्जना भएको यथार्थ हो ।

सदस्यहरुले सबैभन्दा पहिला आफ्नो संस्थाको बारेमा बुझ्न जरुरी छ । के तपाईं सदस्य भएको सहकारी पनि इमेज, शिवशिखर जस्तै हुन् । सदस्य नबनाइ बचत गर्ने, बचत गरेको रकम सञ्चालकको घर जग्गामा लगाउने, साधारणसभामा परिवारलाई नै बोलाएर भोज भतेर गर्ने, मदिरासहितको भोज गर्ने, साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन केही नल्याउने, गर्नै परे पनि मौखिक प्रस्तुत गर्ने, सदस्यहरूलाई कहिल्यै सहकारी शिक्षा नदिने, कर्मचारीहरुको क्षमता विकास कहिल्यै नगर्ने, सहकारीको नाम मात्रै काम सबै साहुकारी गर्ने खालका सहकारी हुन त तपाई सदस्य भएको ?

कि सदस्यसँग मात्रै बचत गर्छन्, सदस्यलाई मात्रै ऋण लगानी गर्छन्, असोज मसान्तसम्ममा लेखापरीक्षण सम्पन्न गर्छन्, पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्छन्, वार्षिक प्रतिवेदन व्यवस्थित रुपमा तपाईंको हातमा पुर्‍याउँछन्, बेला बेलामा सहकारी शिक्षाका कार्यक्रम गर्छन्, कर्मचारीलाई दक्षता अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्छन् यदी यसो गर्छन भने तपाईं सदस्य भएको सहकारी त सहकारीकै मूल्य मान्यतामा चलेको रहेछ त ।

सहकारी कसरी चलेको छ, बुझ्नुस्, साधारणसभामा भत्ताका लागि मात्रै नजानुस्, बचतमा बढी ब्याज पाउने र सेयरमा बढी बोनस पाउने मात्र चिन्ता गर्नुहुन्छ भने तपाईंको रकम जोखिममा पनि पर्न सक्छ । नाफाभन्दा पनि दिगोपना हेर्नुस् । इमेज सहकारीले १५÷१६ प्रतिशत ब्याज दिन्छ, के–के उपहार दिन्छ, ब्याजको कर पनि तिर्न पर्दैन भनेर बढी बढी रकम इमेजमा राख्नेहरू पनि भेटिए, आज इमेजका साहु भागेपछि उनीहरुलाई कति समस्या भएको छ, एक पटक इमेजका पीडितहरुसँग भलाकुसारी गर्नुस् ।

तपाईं सदस्य भएको संस्थाको यथार्थ पत्ता लगाउनुस र ढुक्क भएर कारोबार गर्नुस्, अब मेरो पनि पैसा डुब्छ कि ? भनेर रातभर जागा बस्ने दिनभर संस्थाको वरिपरि चक्कर लगाउने अवस्था दिगो खालका सहकारीहरुमा पर्दैन । यदि सदस्यहरुलाई लगानी गरेको छ, सञ्चालकहरुले सामूहिक रुपमा निर्णय गरेका छन्, साधारणसभामा सञ्चालकहरु सबैको उपस्थिति हुन्छ, सञ्चालकहरुले सामूहिक जिम्मेवारी लिन्छन् भने संस्था बिग्रदैन ।

यतिबेला सहकारीहरुले साधारणसभा गर्दैछन् । पुस मसान्तभित्र सबै सहकारीहरुले साधारणसभा गरिसक्न पर्छ । साधारणसभामा तपाईं जानुस्, संस्थाको अवस्था बुझ्नुस् र संस्थालाई यो बेलामा सहयोग गर्नुस् । एकादुईले बदमासी गरे भनेर सबैलाई एउटै डालोमा हालेर व्यवहार नगर्नुस् । सबै बद्‌मास छैनन्, सबै खराब होइनन, सबैले सहकारीको पैसा आफ्नो निजी सम्पत्ती कमाउन प्रयोग गरेका छैनन् । ऋण लगानी गर्दा ढंग पुराएका छैनन् होला, कागजपत्र सही ढंगले मिलाएका छैनन् होला तर नियत खराब छैन भने सबै कुरा सहज बनाउन सकिन्छ ।

हिजो तपाईंलाई सारो गारोमा सहकारीले कत्तिको साथ दिएको थियो, ऋण माग्दा दियो कि दिएन, तपाईंको घर परिवारको कोही सदस्यको निधन हुँदा दुःख साट्यो कि साटेन, तपाईंलाई व्यवसाय सञ्चालनका लागि पैसाको अभाव हुँदा साथ दियो कि दिएन, घर बनाउँदा, जग्गा खरिद गर्दा, छोरा छोरीलाई पढाउँदा, विदेश पठाउँदा, तपाईंलाई छोरा छोरीले विदेश बोलाउँदा बैंक ब्यालेन्स देखाउनका लागि सहयोग गरेको त बिर्सनु भएको छैन नि ? कि हिजो तपाईंलाई गरेको सहयोग बिर्सेर आज सेयर फिर्ताको निवदेन लिएर सहकारीमा धाइरहनुभएको छ ? यदि यसो गर्नुभएको छ भने तपाईं स्वार्थी मान्छे हो । आफूलाई चाहिँदा सहकारीलाई प्रयोग गर्ने अहिले सहकारीलाई समस्या आउँदा सहयोग गर्नुको साटो उल्टै सेयर फिर्ता लिन निवेदन बोकेर दिन दिनै सहकारीमा धाउने तपाईं र तपाईं जस्ता स्वार्थीहरुका कारण पनि सहकारीलाई समस्या परिरहेको छ ।

सहकारी कस्तो हो भन्ने कुरा तपाईंलाई सहकारीले गरेको व्यवहारबाट पुष्टि भइहाल्छ नि ? अप्ठेरोमा साथ दिएको थियो, ऋण दिएको छ, सारो गारोमा साथ दिएको छ भने त सहकारी सहकारीकै मर्म अनुसार चलेको छ नि ? सबैलाई एउटै डालोमा हालेर सबै बद्‌मास हुन, अब एक पछि अर्को सहकारी बिग्रन्छ भन्दै तपाईं सेयर फिर्ताको निवेदन लिएर सहकारीमा जाने, तपाईं जस्तै अरु अरु पनि कोही बचत फिर्ता गर्न, कोही सेयर फिर्ता गर्न लाइन लाग्ने हो भने दुनियाको कुनै पनि सहकारी मात्रै होइन, बैंक वित्तीय संस्थाले पनि पैसा फिर्ता गर्न सक्दैनन ।

यतिबेला सहकारीहरु साधारणसभाको मेलोमा छन् । बरु साधारणसभामा गएर ऋण नउठेको भए उठाउने योजना बनाउन सघाउनुस्, संस्थाको यथार्थ अवस्थाका बारेमा बुझ्नुस् र सक्नुहुन्छ भने सहयोग गर्नुस् ।

तपाईंले फिक्स (सहकारीमा आवधिक भन्छन् क्यारे) बचत गर्नुभएको छ । १३÷१४ अझै कतिपयमा त १५ प्रतिशतसम्म ब्याज लिनुभएको छ । अझै मासिक ब्याज चाहिन्छ भनेर सहकारीलाई अप्ठेरो पार्नुभएको छ । तपाईंले त्यति धेरै ब्याज लिएपछि संस्थाले लगानी गर्नु परेन, लगानी नगरी कसरी तपाईंलाई ब्याज दिन सक्छ ? यो बेला लगानी गरेको रकम भनेको समयमा उठिरहेको छैन । अनि तपाईं चाहिँ मेरो समय सकियो ले कि ले भनेर दबाब दिँदै हुनुहुन्छ । तपाईं र तपाईं जस्तै सदस्यको दबाबका कारण कतै तपाईं सदस्य भएको संस्थामा पनि वित्तीय समस्या त आउँदैन, विचार गर्नुहोला । सोध्नुस्, के छ अवस्था, कहिलेसम्म मिलाउन सक्नुहुन्छ, कसरी मिलाउछन् साथ दिनुस् । समय थप्न सकिन्छ भने अड्डी नकस्नुस्, समय थपेर तपाईं र तपाईं जस्तै सदस्यको पैसा फिर्ता हुने वातावरण छ भने साथ दिनुस् । तपाईंको पैसा नडुब्ने कुराको सामूहिक प्रतिवद्धता लिनुस् ।

तपाईंले मेरो पैसा झिकिहाल्छु, भन्ने अर्कोले त्यसै भन्ने अर्कोले पनि त्यसै भन्ने हो भने दुध पोखरी बनाउन खोज्दा पानी पोखरी भएजस्तै सबै पैसा फिर्ता माग्दा संस्था बन्द हुने र फेरि सबै सेयर सदस्यहरुको रकम जोखिममा पर्न सक्छ ।

सहकारी बन्द हुने अवस्था सदस्यहरुले सिर्जना नगर्नुस् भन्ने मेरो आग्रह हो । कतिपय सहकारीका सञ्चालकहरु त सदस्यहरुले दबाब दिए बन्द गर्न हुन्थ्यो भनेर पनि बसेको पाइएको छ । किनकी सहकारी बन्द भयो भने सबैभन्दा सहज सञ्चालक र कर्मचारीलाई हुँदो रहेछ भन्ने त देखियो नि ? बदनाम त हुन्छ, जेल जान पर्ला, भाग्न पर्ला तर पैसाको व्यवस्थापन गर्न नसकेको अवस्थामा उनीहरुले यो सबै सहन पनि सक्छन् । मुलुकका केही सहकारीका सञ्चालकहरु जब संस्था बन्द गरेर बेपत्ता भए वा जेल गए, ति सहकारीका बचतकर्ताको बिचल्ली हेर्दा संस्था बन्द गर्नु सदस्यहरुका लागि नै क्षति हुने विषय रहेछ । त्यसैले सबै सदस्यहरु मिलेर तपाईंहरु सेयर सदस्य भएको संस्था सञ्चालनमा योगदान गर्नुस् ।

देव कुमार नेपाली बेपत्ता भएपछि इमेजका पीडितहरुले यो ६ महिनामा भोगेको दुःख, पाएको तनाब हेर्दा सहकारी बन्द हुँदा सदस्यहरुलाई समस्यामाथि समस्या पर्दो रहेछ भन्ने स्पष्ट हुन्छ । हाल आएर इमेज सहकारीलाई ब्युँताउने विषयमा छलफल सुरू भएको छ । सहकारीलाई ब्युँताउदा मात्रै बचतकर्ताको रकम सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सहकारीकर्मी र पीडितहरुले बताउने गर्छन् ।

आखिर बन्द भएको सहकारीलाई त ब्युँताउनु पर्ने अवस्था आउँदो रहेछ भने तपाईं सदस्य भएको र चलिरहेको संस्थालाई निरन्तर चलाउनका लागि के गर्न सकिन्छ ? साधारणसभामा छलफल गर्नुस् । तपाईले गत वर्षहरूमा नाफा दिएकै थियो, साधारणसभा भत्ता दिएकै थियो, सक्नुहुन्छ भने यो वर्षका लागि नाफा र भत्ता होइन, सहकारीको दिगोपनका लागि योजना बनाउन सघाउनुस्, अनि बल्ल तपाईं सहकारीको असल सदस्य बन्नुहुन्छ । खाली कसरी सहकारीबाट फाइदा लिने मात्र भन्नुभयो भने सहकारी समस्यामा पर्न सक्छ ।

मानौ १ हजार जना सदस्य भएको संस्था छ, त्यसलाई सहज रुपमा सञ्चालन गर्नका लागि तत्काल तरलता व्यवस्थापनमा समस्या भएको छ भने १ हजार जनाले २० हजारका दरले केही समयलाई बचत गरिदिने हो भने २ करोड रकम जम्मा हुन्छ । तरलता व्यवस्थापनमा त्यो पैसाले सहकारीलाई सहज हुन सक्छ, अनि संस्थाले ऋण उठाउने, अन्य बचतहरु संकलन गर्न सक्यो भने सहज रुपमा संस्था सञ्चालन हुन सक्छ ।

सहकारीका सदस्यहरुले संस्थाले नाफा गर्दा नाफा लिने, ब्याज लिने मात्रै होइन, संस्थामा अप्ठेरो परेको अवस्थामा पनि साथ दिनसक्नु पर्छ । एकले थुकी सुकी सयले थुकी बगी भने जस्तै सदस्य केन्द्रित भएर कारोबार गरेका सहकारीलाई जोगाउनका लागि सदस्यहरुको भूमिका सबैभन्दा बढी हुन जरुरी छ ।

सहकारीमा भएको पैसा तपाईंहरुको बचत र सेयरको रकम हो, तपाईंहरुको रकमबाट ऋण लगेका सदस्यहरुले तिरेका छैनन् भने साधारणसभाबाट निर्णय गरेर असुलीमा सघाउनुस्, सहकारीमा समस्या आएको हो, संकट आएको छैन, वैशाखमा भन्दा असारमा सुधार भयो, असारमा भन्दा असोजमा सुधार भयो र असोजमा भन्दा मंसिरमा सुधार हुँदै छ । त्यसैले धैर्यता गर्नुस्, गलत गरेका छन् भने काबारही गर्नुस्, गर्दागर्दै समस्या परेको हो भने सहयोग गर्नुस् । सहकारी तपाईंहरुको हो, सहकारीलाई जोगाउने वा डुबाउने पनि तपाईंकै हातमा छ, त्यसैले सहकारीका सदस्यहरू सचेत बन्नुहोला ।
जय सहकारी !

Share This:
सम्बन्धित खबर
Loading...