सङ्खुवासभामा एक हजार सात सयमा डेङ्गु सङ्क्रमण

41

खाँदबारी, २६ कात्तिक । पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेछ ।

सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ । महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेङ्गु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेङ्गुका बारेमा जनचेतना दिन, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेङ्गु नियन्त्रण र रोगथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताए ।

साउन र भदौ महिनामा मात्रै डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार ७१० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा सङ्क्रमित देखिएका छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...