मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले प्रेरित गर्न सकोस् : उपराष्ट्रपति यादव

25

काठमाडौँ, ७ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सामूहिकता र एकतालाई बढावा दिने तथा व्यक्तिको मन, बचन र कर्ममा पवित्रता एवम् शुद्धताको सञ्चार गर्ने भावनाले विजयादशमी अभिप्रेरित रहेको बताए ।

विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तोरत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरे ।

नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशीता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अंगीकार गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुभेषभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गणतन्त्रले गरेको बताए ।

विजयादशमीले सामाजिक विविधतालाई सुदृढ र प्रगाढ बनाउँदै राष्ट्रिय भावनालाई थप मजबुत बनाउन उत्प्रेरित गर्ने उनको भनाइ छ । उपराष्ट्रपति यादवले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको विजयादशमीले अहंकार, लोभ, मोह, क्रोधजस्तो खराब आचरणबाट टाढा रहन पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...