काठमाडौँ, २८ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार बिहान १ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो ।
निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ११ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रूपैयाँ घटाएको जानकारी दिएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ मूल्य तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ११ रूपैयाँ १८ पैसा र डिजेलमा ५ रूपैयाँ ३ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवम् हालसालै लागु भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागु हुने छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई ३ वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्ने छ । त्यस्तै, डिजेल र मट्टितेल १६५ रूपैयाँ ५० पैसा पर्ने छ ।
त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्ने छ । त्यस्तै, डिजेल र मट्टितेल १७६ रूपैयाँ पर्ने छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७३ रूपैयाँ प्रतिलिटर पर्ने छ । त्यस्तै, डिजेल र मट्टितेल १६८ रूपैयाँ पर्ने छ ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।