काठमाडौँ, २७ असोज । नेकपा (एकीकृत समाजवाद)का सम्मानित नेता झलनाथ खनालले कुटी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सरकारसँग जबाफ मागेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी बिहीबार कुटी क्षेत्रमा आएर पार्वती कुण्ड गएका थिए । नेपाललाई जानकारी नदिइ नेपाली भूमिमा आएको भन्दै दलहरूले सरकारसँग जबाफ मागेका छन् ।
एकीकृत समाजवादीका नेता एवम् विदेश विभाग प्रमुख खनालले पनि शनिबार एक विज्ञप्ति जारी गरेर मोदीको भ्रमण आश्चर्यजनक घटना भएको बताएका छन् ।
कुटी, नापी र कुञ्जीजस्ता स्थान नेपालका अभिन्न भू–भाग भए पनि भारतले अतिक्रमण गरेको भन्दै उनले भनेका छन्, “त्यसैले पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पूजाआजको नाममा गरिएको ठाडो अतिक्रमण ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले मोदीबारे जानकारी थियो कि थिएन ? सरकारसँग स्वीकृति लिएको थियो कि थिएन भनेर सरकारको जबाफ मागेका छन् ।
“प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भू–भागका विरूद्ध अर्को ठाडो अतिक्रमण हो,” उनले भनेका छन्, “त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ ।”
उनले अघि भनेका छन्, “त्यस प्रकारका अतिक्रमणका विरूद्ध नेपाल सरकारको दृष्टिकोण के हो ? हाम्रो परराष्ट्र मन्त्रालय यस बारेमा के भन्छ ? सम्पूर्ण यथार्थ जनसमक्ष ल्याउन हाम्रो पार्टी वर्तमान गठबन्धन सरकारसँग जोडदार माग गर्दछ ।”