इलामका १० नेपाली सिक्किममा बेपत्ता भएको प्रारम्भिक जानकारी

27

इलाम, २३ असोज । इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ । इलाम नगरपालिका–९ का नेपालीहरू गत असोज १६ गतेदेखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो । काम गर्न गएका उनीहरू असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुनसक्ने स्थानीयको भनाइ छ ।

स्थानीय विक्रमबाबु फियाकका अनुसार टिस्टामा आएको बाढीपछि उनीहरू आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारूकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ । बेपत्ता हुनेहरूमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत, कुमार बस्नेतलगायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको भए पनि बस्नेतलगायत अन्यको विषयमा थाहा नभएको उनको भनाइ छ । दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको र अन्यको विषयमा पछिल्लो समयमात्र जानकारी प्राप्त भएको उनले बताए ।

सिक्किमका मिडियामा खबर गरिसकेको प्रजिअ पोखरेलले बताए । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अबरूद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ ।

नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारले त्यहाँका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको जानकारी दिए । उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...