कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

24

विराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनाका लागि आज बोलाइएको प्रदेशसभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उनले आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको पनि जिकिर गरे । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु नै अन्मित विकल्प भएको दाबी गरे ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे । यद्यपि, प्रदेशमा सरकार गठनका क्रममा संविधान मिचिँदा सर्वोच्च गएर व्याख्या गर्नुपरेको स्पष्ट पारे । आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिका रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागिपरेको बताए ।

प्रदेशसभा बैठक बस्नुअघि एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो । कार्कीको राजीनामासँगै अब संविधानको धारा १६८ (५) अनुसार प्रदेश सरकार गठनको बाटो खुलेको छ ।

१६८ को उपधारा ५ मा उपधारा ३ अनुसार नियुक्त मुख्यमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत पाउन नसकेमा उपधारा २ अनुसार कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

कोशीमा उपधारा ५ बमोजिम नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिुनपर्ने छ । यदि उनले विश्वासको मत जुटाउन नसकेको अवस्थामा भने प्रदेशसभा स्वतः विघटन हुने छ । यसपछि मध्यावधि निर्वाचन हुने छ ।

सर्वोच्च अदालतको परमादेशपछि गत भदौ २२ गते कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...