पाकिस्तानबाट काठमाडौँ फर्कियो दमाम उडेको नेपाल एयरलाइन्सको जहाज

43

काठमाडौँ, १८ असोज । काठमाडौँ साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।

गएराति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आरए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार काठमाडौँ–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए ।

जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा संकेत गर्ने उपकरणलाई टिकास भनिन्छ । “टिकास जहाज भित्रको सिस्टम हो, यसलाई ‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ भनिन्छ । जसले कुनै जहाज नजिक आएको खण्डमा सम्भावित जोखिमबाट जोगाउन आवश्यक निर्देशन दिन्छ,” महाप्रबन्धक तिवारीले भने । उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ ।

नेपाल वायुसेवा निगमले २०८० भदौ २० गतेदेखि काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरू गरेको थियो । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...