मुस्कान खातुनको घाउ निको नहुँदै सरकारले अपराधी छाडिदियो : ओली

26

काठमाडौँ, १६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले एसिड आक्रमणमा परेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले कैदमुक्त गरिदिएको बताए ।

“हामीले एसिड आक्रमण खास गरी हाम्रा छोरीहरूको सुरक्षाका लागि कडा कारबाही हुने गरी संसद् नभएर अध्यादेशबाट कानुन ल्याउनुपर्‍यो । ४ वर्ष नहुँदै मुस्कान खातुन– जो नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियरूपमा पनि परिचित छन्, तर सरकारले घाउ निको नहुँदै उन्मुक्ति दिएको छ,” उनले भने, “उनको उपचार गरिदिन नसक्ने, अपराधीलाई उन्मुक्ति दिने काम भएको छ ।”

“मुस्कान खातुन रोएर हिँडेकी छन् । तर, सरकारले अस्ति छोडिदियो । फागुन १ गतेको उत्सवमा छोड्यो कि संविधान दिवस भनेर छोड्यो मलाई एकिन भएन,” उनले भने ।

उनले मुस्कान खातुनलाई एसिड हान्ने अपराधीलाई अदालतले १० वर्ष कैद फैसला गरेको भन्दै त्यस्ता व्यक्तिलाई छोडिएको बताए ।

“मुस्कान खातुनको अहिले पेटको छाला टाँस्नुपरेको छ, तिघ्राको छाला काटेर टाँस्नुपरेको छ । अप्रेसन चलिरहेको छ । सरकारले अपराधी छोडिदियो । यो देशमा न्याय छैन ?,” प्रश्न गर्दै ओलीले भने, “हिजो गृहमन्त्रीले हेटौँडामा गएर खोक्नुभयो–सुशासनको अभियान रोक्न संगठित अभियान चलिरहेको छ । कसले रोक्यो तपाईंको सुशासन, भेपमा सुन तस्करी हुन्छ, अनुसन्धानले संलग्न व्यक्ति देखिन्छ ? उसलाई छानबिन गर्न कुन सुशासन विरोधीले रोकेको थियो ?”

Share This:
सम्बन्धित खबर
Loading...