गोविन्द लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना पक्राउ

85

दमक, १६ असोज । गत शुक्रबार दमकमा भएको हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।

दमक नगरपालिका–१ स्थित रूवेल माछा फ्राइमा साथीहरूबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्याल्य झापाले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलन गरी आरोपी राईसहित दमक–१ का २२ वर्षीय आनन्द भुजेल, दमक–७ कै १८ वर्षीय सवास आलम, दमक–१ कुमाल चोकको रूवेल माछा फ्राइका सञ्चालक विशाल कुमाल, दमक–१ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरूङ, दमक–७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली–४ का ३१ वर्षीय सन्दीप राई, सोही पालिका–३ का ३८ वर्षीय सूर्य केरूङ र ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए ।

उनले घटनाकै दिन होटल सञ्चालक कुमालसहित ८ र सोमबार मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी–१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार तीन दिनअघि दमक–१ स्थित कुमाल चोकको रूवेल माछा फ्राइमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए ।

हत्यालगत्तै उनी फरार थिए र सोमबार खोजतलासका क्रममा संयुक्त टोलीले राईसहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...