पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

43

काठमाडौँ, १४ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागु हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडवाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । मूल्य स्थितिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

निगमले गएरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ बढाउने निर्णय गरेको थियो । त्यस्तै, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० पुगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...