मोरङ, ७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संघ (पिपिएलए)को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोशीमा एमालेले हार्ने सिट संख्या थोरै मात्रामा रहेको दाबी गरे ।
उनले भने, “कोशी नामाकरणको विषयमा सिंगो एमाले जुरूक्क उठ्नुपर्थ्यो, त्यसरी उठेन, बरू एमालेका कतिपय कार्यकर्ता नामाकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।” तत्काली प्रदेश नम्बर १ को कोशी नामाकरण ठिक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रष्ट पारे ।
कोशी नामाकरणविरूद्ध जबरजस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौँदेखिका मानिस ल्याउन थालिएको दाबी गरे । उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दंगा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाए ।