संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

20

काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् ।

संविधान दिवसको शुभकामना व्यक्त गर्दै उनले संविधानमार्फत् निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताए । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गरे ।

सभापति देउवाले ऐतिहासिक जननिर्वाचित संविधानमार्फत् संविधान निर्माण भइ जारी भएको आज ८ वर्ष पूरा भएर ९ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भइ तीनै तहले दोस्रो कार्यकालका रूपमा काम गरिरहेको बताए ।

संवैधानिक अभ्यासमा भएका कमीकमजोरी सच्याउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै सभापति देउवाले सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र विभिन्न पेसाकर्मीको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशका रूपमा अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताए ।

सभापति देउवाले मुलुकलाई केही वर्षमा नै समुन्नत मुलुकका रूपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको बताउँदै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर सहभागी हुन अनुरोध गरे ।

Share This:
सम्बन्धित खबर
Loading...