काठमाडौँ, ३ असोज । संघीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन् ।
संविधान दिवसको शुभकामना सन्देशमार्फत् सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् । “संविधानले राज्यका अंगको निर्धारण, अधिकारको विभाजन र सन्तुलन (शक्ति पृथकीकरण)को बलियो प्रबन्ध गरेकाले पुनः क्रान्तिको आवश्यकता अन्त्य गरेको छ । तर, संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरूरी छ,” सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।
संविधान मुलुकको सर्वोच्च कानुन हो । संविधान जारी भएको पछिल्लो ८ वर्षमा संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भएको र संविधानबमोजिम नै आवधिक निर्वाचनबाट निर्वाचित सरकार तीनवटै तहमा क्रियाशील रहेको उनको भनाइ छ ।
नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय संस्थागत भएको उल्लेख गर्दै सभामुख घिमिरेले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत् सुनिश्चित भएको बताए ।