कोशीका मुख्यमन्त्रीविरूद्धको रिट आजदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

21

काठमाडौँ, १८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरूद्धको रिट निवेदन आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको आइतबारको संयुक्त इजलासले रिट निदेवनमा आजदेखि निरन्तर सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।

मुख्यमन्त्री थापाले पछिल्लो पटक भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरिरहेका इस्माइल मन्सुरीले पनि मत दिएका थिए ।

सभाध्यक्षले संविधानविपरीत मत दिएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले भदौ ५ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । भदौ ७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यसअघि पनि प्रदेशसभाका तत्कालीन सभामुख बाबुराम गौतमलाई सरकार गठनको दाबी पत्रमा हस्ताक्षर गर्न लगाएर दाबी पेस गरेका कारण सर्वोच्चले सरकार गठनसम्बन्धी प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै मुख्यमन्त्री थापालाई पदमुक्त गरिदिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...