काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ललिता निवास जग्गा कीर्ते प्रकरणमा निर्दोष सावित भएको दाबी गरेका छन् ।
पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, “पहिलो पटक उहाँ (माधव नेपाल) निर्दोष भन्ने सावित भयो । अब प्रश्न उठाउने ठाउँ भएन । सिआइबीले बयान लिएर निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दियो ।”
साथै प्रचण्डले यस प्रकरणमा नेपालविरूद्ध हुने षड्यन्त्र टरेको बताए । उनले अगाडि थपे,“माधवजीलाई मात्र ‘टेन्सन’ भए त हुन्थ्यो, मलाई पनि ‘टेन्सन’ थियो । अन्य कुनै षड्यन्त्र हुने थियो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन ।”
भ्रष्टाचार विरोधी अभियानलाई सरकार ले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो अभियान सानो मनले सुरू नगरिएको र दोषी छ भने जोसुकै भए पनि पर्ने स्पष्ट पारे । भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा भइरहेको छानबिन निष्कर्षतिर जाने उनले बताए ।
भ्रष्टाचारका काण्डमा माओवादीका नेतालाई बचाउन खोज्यो भनेर भ्रम फैलाउन खोजेको भन्दै त्यसको खण्डन गरेका छन् । उनले भने, “पत्रिकामा अइरहन्छ माओवादीको फलानो नेता सुन काण्डमा मुछियो भनेर । मैले अनुसन्धानकर्तालाई भने, छ भने समाते भयो, ल्याएर सोधे भयो । पत्रिकामा नाम उल्लेख गर्ने जनतामा भ्रम फैलाउने अनि सरकारलाई अप्ठ्यारोमा पार्ने आफू गिरफ्तार नगर्ने भनेर ।”