कर्णाली, १४ भदौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै उनले नयाँ संकल्पसहित राष्ट्र निर्माणको अनवरत यात्रामा रहेको मुलुकको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिंगो जीवन अर्पाण गर्ने बताएका हुन् । उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरूद्ध लडाइँ सुरू भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे ।
“सरकारले थालेको सुशासन र भ्रष्टाचारविरूद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ,” उनले भने, “यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।”
उनले आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको उर्वर भूमि कर्णाली भएको बताउँदै सुर्खेत–हिल्सा सडक सबैभन्दा अगाडि रहने वचन दिए । कर्णाली करिडोरले यहाँका जनताको भविष्यलाई सुनिश्चित गर्नुका साथै यहाँको आर्थिक क्रान्तिको आधार हुने र सडक निर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीलाई चनाखो बन्न र अझ ठुलो मोर्चा बनाएर एकताबद्ध ढंगले अगाडि बढ्न आग्रह गरे ।