कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुख र असईविरूद्ध पक्राउ पुर्जी जारीपछि आफन्तले बुझे शव

287

खाँदबारी, २९ साउन । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् ।

चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । असई चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खनालले बताए । पीडितले दिएको किटानी जाहेरीका आधारमा असई चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी गरेको थियो ।

कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–९ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । शनिबार जिल्ला प्रहरी कार्यालयमा कारागार निमित्त प्रमुख (जेलर) घिमिरे र असई चौधरीविरूद्ध जाहेरी परेको थियो । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान गरिरहेका कार्यालयले जनाएको छ ।

पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी जारी भएका कारागारका निमित्त प्रमुख घिमिरेलाई पक्राउ गरेर अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।

कुटपिटबाट मृत्यु भएको कैदी तोलाङ्गी र बलामीका आफन्तले ६ दिनपछि शव बुझेका छन् । किटानी जाहेरीपछि शनिबार शवको परीक्षण गरिएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोप लागेका कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि मृतकका आफन्तले आज शव बुझेका हुन् ।

पीडित पक्षले शव हेर्दा रडले कुटपिट गरेको, शरीरभरि निलडाम भएको, हत्या भएको आधार देखिएपछि कारागार प्रमुख र कारागारका सुरक्षाकर्मीविरूद्ध मृतकका आफन्तले जाहेरी दिएका थिए । घटनालगत्तै गृह मन्त्रालयले यही साउन २४ गते छानबिन समिति गठन गरेको थियो ।

सम्बन्धित समाचार 

Share This:
सम्बन्धित खबर
Loading...