काठमाडौँ, १८ साउन । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृतिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् ।
कमलादीस्थित नेपा प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमको जनतामा नयाँ आशा र विश्वास जगाएको उल्लेख गरेका छन् । सदस्यहरूले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको मूल ‘स्प्रिट’ को समर्थन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुनःनिर्माणका पक्षमा आ–आफ्ना सुझाव प्रस्तुत गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।
सहभागीले पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनःनिर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । सदस्यले पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिंगो पार्टी एकताबद्ध संकल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राखेको उनले बताए ।
आजको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एवम् प्रवक्ता महरासहित ५६ जनाले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवम् संगठनात्मक प्रस्तावमाथि धारणा राखेका छन् । सो क्रममा वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधानमन्त्री श्रेष्ठले अध्यक्षले प्रस्तुत गरेको प्रस्ताव समसामयिक रहेकाले सोको कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएका थिए । उक्त प्रस्तावमाथि आफ्नो दृढ समर्थन रहेको उल्लेख गर्दै उनले पार्टीलाई रूपान्तरण गरेर जानुपर्ने बताए ।
बैठकको पहिलो दिन बुधबार १८ सदस्यले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवम् संगठनात्मक प्रस्तावमाथि धारणा प्रस्तुत गरेका थिए । हालसम्म ७४ सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् । बैठकमा सहभागीले आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ ।