अमेरिका र माल्टा पठाउने भन्दै रकम लिइ फरार दुई जना पक्राउ

51

काठमाडौँ, २८ जेठ । वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिइ फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भइ हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपानले र मुगु छायाँनाथ रारा नगरपालिका–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३४ वर्षीय प्रवीन खड्का रहेका छन् ।

श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने त्यसका लागि ३१ लाख लाग्ने र अमेरिका पुगेपछि मोबाइल सफ्टवेयर कम्पनीमा काम लगाइदिने तथा मासिक तीन लाख ३० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा ६ लाख २१ हजार रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

यसैगरी, खड्काले कर्णबहादुर बुढासमेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने तथा माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितहरूबाट पटक–पटक गरी जम्मा ९ लाख रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको आरोपमा आज काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट प्रहरीले पक्राउ गरेरको हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...