ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ

45

काठमाडौँ, २५ जेठ । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

उनका अनुसार उनीहरूले बिरामीबाट लाग्ने शुल्क लिएर सफ्टवेयरको दुरूपयोग गरी कम शुल्क प्रविष्ट गरी ठगी गरेका हुन् । यसरी ठगी गरेको आरोपमा पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुरको ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २९ वर्षीय सनम देसार र काठमाडौँको बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन् ।

उनीहरूविरूद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

ती कर्मचारीले अस्पतालमा प्रयोग हुँदै आएको सफ्टवेयरको दुरूपयोग गरी बिरामीबाट शय्या शुल्क, डाक्टर शुल्क र नर्सिङ शुल्कसमेतको वास्तविक शुल्क लिई निजहरूबाट लिएको शुल्कभन्दा कम शुल्क देखाइ २ करोड ६३ लाख ५५ हजार ठगी गरेको आरोप लागेको ललितपुर प्रहरीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...