ठमेलबाट दुई करोड ३३ लाख मूल्य बराबरको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

31

काठमाडौँ, ८ वैशाख । नेपाल प्रहरीले लागुऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले एक किलोग्राम ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीय पिलिसिला वान्जा एन्ड्रिटु रहेका छन् ।

ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गरी दुवै जनालाई ठमेलको छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले खैरो रङको झोलाभित्र फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा एक किलोग्राम ८० ग्राम कोकिनसहित पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकी केन्याकी नागरिक एन्ड्रिटुसँग एक हजार अमेरिकी डलरसमेत बरामद गरेको प्रहरी उपरीक्षक जोशीले बताए । पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

बरामद भएको कोकिनको अन्दाजी बजार मूल्य दुई करोड ३३ लाख २८ हजार रहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...