काठमाडौँ, २४ चैत । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव । यादव बारा-२ मा हुने उपनिर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवारसमेत हुन् ।
अहिले भइरहेको चुनावी सभा, बैठक, कार्यक्रममा पुग्ने अधिकांश नेताले जसपा अध्यक्ष यादवको चर्को रूपमा विरोध गरिरहेका छन् । यादवको विरोध गर्दै उनीहरूले आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिरहेका छन् । आफ्ना उम्मेदवार विजयी भए बारासहित मधेसको विकास, समृद्धिका लागि काम गर्ने उनीहरूको दाबी छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका थिए । महागढीमाई नगरपालिकाको वरियारपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यादवको चर्को विरोध गरे । उपनिर्वाचनमा यादव विजयी भए केही नगर्ने बताउँदै ओलीले मधेसको विकासका लागि एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई मतदान दिन आग्रह गरे । ‘उहाँले जितेर के गर्नुहुन्छ ? उहाँले जितेपछि फूलमाला र अबिर लगाउनेबाहेक के गर्नुहुन्छ ? मन्त्री खानुहोला । त्योभन्दा बढी के गर्नुहुन्छ ?’ ओलीले भने ।
कलैयाको सिद्धेश्वर माविस्थित क्रिकेट खेलमैदानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले यादवलाई ‘फिरंगी’को संज्ञा दिए । सप्तरी–२ मा ४ मंसिरमा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत दोब्बर मतले प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउँछ ।’
जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहा स्थायी भएको बताउँदै उनले स्थानीय नेतालाई नै विजयी बनाउन र टुरिस्ट उम्मेदवारलाई बहिष्कार गर्नुपर्ने बताए ।
आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले यादवलाई ‘बहुरुपीया’ रहेको संज्ञा दिएका छन् । मधेसी जनतालाई ठग्दै आएका मधेस विरोधी बारामा चुनाव लड्न आएको भन्दै साहले यादवलाई पराजित गर्न आआफना ठाउँबाट लाग्नुपर्ने बताए ।
एमाले अध्यक्ष ओली, जनमत अध्यक्ष राउत, आजपा अध्यक्ष साहसहितका नेताले यादवका विरोधमा उत्रे पनि यादवले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनी मौन रहेरै मतदातासँग भेटघाट गरिरहेका छन् ।
बिहीबार कलैया पुगेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई यादवको आवश्यकता रहेको दाबी गरे । विभिन्न पार्टीका शीर्ष नेताले यादवको चर्को विरोध गरिरहेकै बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए । राजधानी दैनिकबाट