काठमाडौँ, २१ चैत । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्यास) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्यास)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे ।
यो सँगै सुलभपे प्रालिको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको कम्पनीको दाबी छ । एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो र फोनपे क्युआर प्रयोग गर्ने क्षमताका साथ अतुलनीय स्तरको सुविधा प्रदान गर्ने बताइएको छ ।
कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा एनक्यास सुलभपेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले फोनपे क्युआर सुरू गर्न पाउँदा उत्साहित भएको बताए ।
फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन् । एक करोड ७० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।