बेचबिखनमा परेका ९ युवतीको दिल्लीबाट उद्धार, यौनधन्दामा लगाउने ३ जना पक्राउ

35

काठमाडौँ, १४ चैत । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बेचबिखनमा परेका ९ जना नेपाली युवतीलाई भारतको दिल्लीबाट उद्धार गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीका अनुसार यसरी बेचबिखनमा परेका युवतीहरूलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर दिल्ली पुर्‍याएका थिए र उनीहरूलाई त्यहाँ बन्धक बनाएर जबरजस्ती वेश्यावृत्तिमा लगाइएको थियो ।

बेचबिखनमा परेका युवतीहरूलाई भारतीय प्रहरी, भारतस्थित नेपाली राजदूतावास, भारतीय समाजिक संस्था केआइएन इन्डिया, नेपालस्थित शक्ति समूहको सहयोगमा चैत ७ गते उद्धार गरेर नेपाल ल्याइएको हो । उनीहरूलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ ।

यस कार्यमा संलग्नमध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेशी–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुश्मा मतराती रहेका छन् । मानव बेचबिखन गर्ने गिरोहन नै भए पनि प्रहरीले यसमा संलग्न ३ जनालाई मात्रै पक्राउ गरेको हो । अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानमा उनीहरूले काठमाडौँको माछापोखरी, बसपार्कलगायत ठाउँहरूमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गरेको बुझिएको छ । उनीहरूले युवतीहरूलाई भारतको दिल्ली लैजान काठमाडौँबाट नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाइ दिल्ली पुर्‍याउने गरेका थिए ।

बेचबिखनमा संलग्न गिरोहले २०७९ असोज महिनादेखि फागुन महिनासम्म ९ जना युवतीहरूलाई काठमाडौँदेखि दिल्ली पुर्‍याएको खुलेको छ । पीडित युवतीहरूलाई औषधि मिसाएको प्याकिङ खाना तथा जुस दिएर बेहोस बनाइ सीमा कटाएको एसपी पंगेनीले बताए ।

पीडित युवतीहरूलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराई फेसबुक आइडीसमेत प्रतिवादीहरूले खोलिदिइ सोको पासवर्डसमेत आफैँले राखी अनलाइन निगरानी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

यस्तै, उनीहरूलाई दिल्ली किशनगणस्थित पन्जाबीढावा भन्ने स्थानमा भाडामा राखिएको थियो । फ्ल्याट सिसिटिभीको निगरानीमा राखिएका, सम्पर्कमा आएका व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत् पीडित युवतीहरूको फोटो पठाइ उनीहरूले छानेका युवतीहरूलाई वेश्यागमनमा आउने व्यक्तिहरूले भनेको होटल, घरहरूमा ट्याक्सी बुक गरी पुर्‍याइदिने गरेको पाइएको छ ।

एक जना युवतीले एक महिनामा कम्तिमा पनि १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने भन्दै दबाब दिने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् । गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेक अन्य सहरहरूमा समेत पठाउने गर्थे ।

प्रहरीका अनुसार सेन्जीले मात्रै ८ जनालाई बेचबिखन गरी यौन व्यवसायमा लगाएको खुलेको छ । प्रत्येक व्यक्तिबाट उनले ५० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । यद्यपि, उनले भने ८ जनालाई पठाएबापत तीनपटक गरी ६० हजार लिएको प्रहरीसँग दाबी गरेकी छन् ।

श्रीमान्–श्रीमती भुवन र सुश्माको भने २÷३ जनालाई बेचबिखन गर्नमा भूमिका देखिएको छ । उनीहरूले सेन्जीले जस्तै युवती खोज्ने गरेको देखिन्छ । भुवनले युवतीहरूलाई प्रलोभनमा पारेपछि बसपार्कसम्म पुर्‍याउँथे । पीडितलाई आफ्नी श्रीमती सुस्मासँगै दिल्ली पठाउँथे ।

मानव बेचबिखनमा संलग्न अरूहरू अझै भारतमै रहेको पनि एसपी श्रेष्ठले बताए । गिरोहका अन्य व्यक्ति र पीडितको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...