प्रहरी संगठनको आन्तरिक शुद्धीकरण पहिलो प्राथमिकता : प्रहरी महानिरीक्षक कुँवर

84

काठमाडौँ, १२ चैत । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताएका हुन् ।

अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सवल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको बताए । व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उनले बताए ।

नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानूनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन–कानुनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताए ।

क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आवद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ–आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशिलताको अपेक्षा गर्दछु । संगठनको हित प्रति केन्द्रीत यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु ।’

गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘अपराधीहरूलाई कानूनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरवाही र उदासिनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन ।’ साथै उनले सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थ बिना एकै साथ मिलेर, एक ढिक्का भएर संगठनको गरिमालाई थप उचाइमा पुर्‍याउन एकमतको सांगठनिक दुरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्न समेत अनुरोध गरे । संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीहरूको भलाइका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले बिना हिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुख समक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चतता हुने विश्वास उनले व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिको साथै प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...