काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरूले मतदान गरेका थिए ।
उनले राखेको प्रस्तावको पक्षमा १७२ मत खसेको छ भने उनलाई विश्वासको दिन्न भन्ने पक्षमा ८९ मत परेको छ । आजको मतदानमा २६२ सांसद सहभागी थिए । तीमध्ये एक जना तटस्थ रहेका थिए ।
यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए । त्यतिबेला उने २६८ जना सांसदको विश्वासको मत पाएका थिए ।
सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारूढ गठबन्धनलाई प्रधानमन्त्री आफैँले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री प्रचण्डले तीन महिनाको अन्तरालमा दोस्रोपटक संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई यसपटक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र ३ जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यसपटक नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो ।