काठमाडौँ, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको जानकारी दिए ।
श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुन् । नागरिक उन्मुक्ति पार्टी ९ दलीय गठबन्धनमा छ ।
उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदै छ ।
बिहीबार राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । यस्तोमा उपराष्ट्रपति पदमा फकर समुदाय वा लिंगको व्यक्ति चाहिने आवाज उठिरहेको छ । निर्वाचन आयोगलेसमेत महिलालाई उपराष्ट्रपतिमा अघि सार्न दलहरूलाई सुझाएको छ ।
शुक्रबार मात्रै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपतिको उम्मेदवारबारे गठबन्धनले अहिलेसम्म निर्णय गरिनसकेको बताएका छन् ।
सोही गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले भने उपराष्ट्रपतिमा बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा उपेन्द्र यादव उपचुनाव लड्ने तयारीमा छन् ।