जीवन बुडाल मृत्यु प्रकरण : घटनास्थल नजिकै बिस्फोटक पदार्थ फेला

55

बैतडी, २३ फागुन । दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शंकास्पद देखिएको छ । उनको आफैँ मृत्यु भएको हो वा हत्या भएको हो खुल्न सकेको छैन ।

परिवारका सदस्यले बुडालको हत्या भएको भन्दै १२ जनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बैतडीका प्रहरी पवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

फागुन १३ गते वनभोजका लागि दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति मृतावस्थामा फेला परेका थिए ।

बुडालसँगै पिकनिक मनाउन गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट,  टेक खत्री र मोहन ठगुन्नालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले बुडालको शव नजिकबाट बिस्फोटक पदार्थ फेला पारेपछि हिरासतमा रहेका १२ जनामाथि ज्यानसम्बन्धी कसुर र बिस्फोटक पदार्थ ऐनअन्तर्गत अनुसन्धान भइरहेकाे सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले बताए ।

सुरूमा ७ दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनीहरूले बिस्फोटक पदार्थ लुकाएर राखेको पत्ता लागेको थियो ।

घटनास्थल नजिकैबाट उक्त बिस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ । हाल उनीहरूविरूद्ध दोस्रोपटक थप १२ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बुडाल राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सूचक पदमा कार्यरत थिए । बिदामा घर आएका बेला दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगडस्थित चौलानी नदी किनारमा मृत फेला परेका थिए ।

बुडाल चौलानी नदीमा डुबेको अवस्थामा फेला परेकाले डुबेर मृत्यु भएको अनुमान गरिए पनि उनी पौडी खेल्न सिपालु रहेको आफन्तले बताएका छन् । मृतक बुडालको शव परीक्षण गरिए पनि अस्पतालमै रहेको छ ।

बुडालको मृत्युको सत्यतथ्य पत्ता लगाउनुपर्ने भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान टोली बैतडी पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीवनको शव पोष्टमार्टमपछि भीसेरा परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...