एमालेको ग्राट रुटमा अभियानमा सहभागी हुन जाँदा दुर्घटनामा परी एकको मृत्यु
प्युठान, २० फागुन । नेकपा (एमाले)द्वारा सञ्चालिन ग्रास रुट अभियानमा भाग लिन जाँदै गर्दा प्युठानमा एक जनाको मृत्यु भएको छ ।
माण्डवी गाउँपालिका–५ आपचौरमा जेसिबी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा गोपाल थापाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाटोमा काम गरिरहेको जेसिबीमा मोटरसाइकल ठोक्किँदा ऐरावती–२ टिकुरी बस्ने गोपाल भनिने रामबहादुर थापाको मृत्यु भएको हो भने सो मोटरसाइकलमा सवार कमला भुसाल भने घाइते भएकी छन् । घाइते भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि रानीबगरमा आयोजना भएको वडास्तरीय कार्यक्रममा सहभागी हुन जाँदै थिए । उक्त घटनापछि एमालेले कार्यक्रम स्थगित गरेको छ ।