अरूण तेस्रो आयोजनामा कार्यररत एक मजदुरको मृत्यु, २ जना घाइते

192

खाँदबारी, १७ माघ । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्‌गृहस्थल केराबारीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

मंगलबार राति ३ बजे विद्युत्‌गृहस्थल चिचिला गाउँपालिका–३ केराबारीमा सुरूङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा मंगलबार बिहान जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको हो ।

सुरूङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुईजना मजदुरसमेत घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सिन्धुपाल्चोक थाङ्पाल गाउँपालिका–५ का ३८वर्षीय मंगोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

घाइते मंगोल तामाङको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीम तामाङको हातगोडा र कुममा चोट लागेको छ । घाइते दुवैजनाको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ ।

आयोजनास्थलमा हालसम्म एक दर्जनभन्दा बढी कामदारको ज्यान गएको छ । परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...