प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कार्की

141

काठमाडौँ, २४ पुस । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा (एमाले) प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

कार्कीले आज दिउँसोसम्म दाबी पेस गर्ने तयारी गरेका छन् । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेपछि मुख्यमन्त्रीको दाबी पेस भएको थिएन ।

औपचारिक निर्णय हुन बाँकी रहेपनि प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको जनाएको छ ।

संविधानको धारा १६८ (२) बमोजिम २ वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुुराम खापुङले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ । सीमा दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने एमालेले बताएको छ ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न चाहिने कागजी दस्ताबेज तयार भइसकेको एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

९३ सदस्यीय प्रदेशसभामध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेस गर्ने एमालेको तयारी छ । एमाले ४०, माओवादी १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ६ र जनता समाजवादी पार्टी (जसपा) १ गरी एमाले गठबन्धनसँग ६० सांसद छन् । सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ ।

झापा–५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन् । अध्यक्ष केपी शर्मा ओलीनिकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।

प्रदेश प्रमुख खापुङले पुस १७ गते नै एक साताको समय दिए संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...