बागलुङ, १ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताएका छन् ।
बिहीबार गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताउँदै जनताको समस्या नै आफ्ना समस्या भएको बताए ।
उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धिको रक्षाका लागि वाम लोकतान्त्रिक शक्ति एकठाउँमा हुनुपरेको उल्लेख गरे । विपक्षीले अर्गानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकासका लागि धेरै काम गरेको दाबी गरे ।
“विपक्षीले केही नपाएर अर्गानिक उम्मेदवारको हल्ला चलाएका छन्, म यहीँ बागलुङको माटोमा जन्मिएको हुँ,” उनले भने, “विपक्षीलाई ठाडो चुनौती दिन चाहान्छु जिल्लाको विकासका लागि मेरो जति भूमिका विपक्षीको छैन ।” उनले जिल्लाका ६ वटै सिट गठबन्धनले अत्यधिक मतले जित्ने दाबी गरे ।
नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देशको नेतृत्व गर्न असफल भएको आरोप लगाए ।
चुनावका लागि मात्र गठबन्धन नभएको बताउँदै जनताका आधाभूत रुपमा उठाइएको साझा मुद्दाको रक्षाका लागि भएको बताए ।
संविधान सभा सदस्य नरबहादुर पुनले अहिलेको निर्वाचन संविधान जोगाउने र सक्काउनेबीच भएको बताए । देशमा राजावादी र लोकतन्त्रबादीबीच चुनावी प्रतिस्पर्धा भएको बताउँदै गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए ।
गण्डकी प्रदेशसभा सदस्य पदका उम्मेदवार जितबहादुर शेरचनले जनताको सेवाका लागि राजनीतिमा आएको बताएका छन् । जनताको सेवाका लागि राजनीतिमा आएको बताउँदै अबको बाँकी जीवन पनि जनताकै निम्ति खर्चने बताए ।