काठमाडौँ, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित ६ जना नेकपा (एमाले)मै फर्किएका छन् ।
सोमबार बसुन्धारामा एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमै फर्किएका हुन् । उनीहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गरे ।
एमाले प्रवेश गरेका श्रेष्ठले एकीकृत समाजवादीसँग देश विकासको कुनै भिजन नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताए । श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ को युवा परिचालनको सचिव भएर काम गरेका थिए । यस पटक पनि एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उनले बताए ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरूलाई पुरानै घर फर्कन आह्वान गरे ।