पहिले,
बिहानीको घमाइलो घामसँगै दसैँ आउथ्यो।
खेतमा झुल्नै आँटेका पहेँला धानका बालासँगै दसैँ आउथ्यो।
लाहुरबाट आउने लाहुरेसँगै दसैँ आउथ्यो
टोल टोलमा बनाइने लट्ठे पिङसँगै दसैँ आउथ्यो
मामा घर जाने, प्रियजन र आफन्तसँग भेट्ने रहरसँगै दसैँ आउथ्यो
रातो टीका र पहेँला जमरासँगै दसैँ आउथ्थो
अग्रज कहाँ गई आशीर्वाद थाप्दा दसैँ आउथ्यो
दुर्गादेवीको स्तुति मालश्री गाउँदा दसैँ आउथ्यो
भाइ भाइबीचको बन्धुत्व र एकताले विजयको राग बढ्दा दसैँ आउथ्यो
बाबाले किनिदिने नयाँ स्कुल ड्रेससँगै दसैँ आउथ्यो
पैसा नभए पनि मनमा कान्ती छाउँथ्यो र पो दसैँ आउथ्यो।
आजकल,
लाहुरबाट लाहुरे आउनु पर्दैन,
पैसा आए दसैँ आउँछ
आशीर्वाद चाहिँदैन
ठुलो दक्षिणा भए दसैँ आउँछ
हुनेहरुको घरमा गाडी घोडासँगै दसैँ आउँछ
ऋणको ठुलो भारी बोकेर दसैँ आउँछ
गरिबका लागि दशा बनेर दसैँ आउँछ
कोभन्दा को कम भन्ने विचार र भावनासँगै दसैँ आउँछ
धन, दौलत र सम्पन्नतासँगै जोडिएर दसैँ आउँछ ।
प्रकृति पनि थाक्दै गएछ सायद
घमाइलो घामको सट्टा कालो बादल मडारिइ रहेको हुन्छ
आकशको गर्जन र मुसलधारे पानीसँगै दसैँ आउँछ
बाढी, पहिरो र विपत्तिसँगै दसैँ आउँछ
अब,
समाजमा एकता र बन्धुत्वको भावना बोकेर दसैँ आओस्
विजयको उल्लास र अभिलाषा बोकेर दसैँ आओस्
मनमा हर्ष उमंग र स्थिरतासँगै दसैँ आओस्
हुँदा खाने र हुने खाने सबैका लागि दसैँ आओस्
बडा दसैँको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।