काठमाडौँ, २० वैशाख । कथानक फिल्म ‘एक मुठ्ठी बादलःमाई सेयर अफ स्काई’ जेठ १ गतेदेखि प्रदर्शनमा आउँदै छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन तय गरेको हो ।
आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काइ’ पारिवारिक कथामा केन्द्रित फिल्म हो ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा अभिनेत्री आँचल शर्माले चलचित्रलाई ‘फ्यामिली ड्रामा’ का रूपमा व्याख्या गर्दै फिल्मले विशेषगरी महिलाको आन्तरिक संघर्षलाई उजागर गर्ने बताउनुभयो ।
उहाँका अनुसार फिल्मले विवाहअघि एक महिलाले भोग्ने मानसिक द्वन्द्व, सामाजिक अपेक्षा र व्यक्तिगत आकाङ्क्षाबिचको संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ ।
उहाँले भन्नुभयो, “यो फ्यामिली ड्रामा हो । अर्को कुरा, फ्यामिली ड्रामामा पनि सधैँ दुःखहरुको राम्रो र नराम्रो पक्ष देखाउँछौँ । तर, यो फिल्ममा एक महिला अर्थात् महिला पात्रले भोग्ने मानसिक द्वन्द्व, सामाजिक अपेक्षा र व्यक्तिगत आकाङ्क्षाबिचको संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ ।”
चलचित्रले एउटै परिवारभित्रका विभिन्न सदस्य आमाबुबा, दिदीबहिनी र अन्य पात्रहरूका जीवनका फरक–फरक पाटा देखाउने प्रयास गरेको छ । “परिवारभित्र लुकेका पीडा, नदेखिएका संघर्ष र नबोलिएका भावनाहरूलाई फिल्मले बाहिर ल्याउनेछ,” शर्मा अगाडि भन्नुभयो, “समाजले महिलालाई हेर्ने दृष्टिकोण र त्यसले महिलाको जीवनमा पार्ने प्रभाव पनि कथाको महत्वपूर्ण पक्ष हो ।”
शर्माका अनुसार फिल्मको कथा तीन पुस्ताका महिलाहरूको अनुभवमा आधारित छ, जहाँ आमा, जेठी र माइली पात्रहरूबीचको सम्बन्ध साथै उनीहरूको जीवनयात्रा एकआपसमा गाँसिएको देखिन्छ । यसले पारिवारिक संस्कार, अनुभव र त्यसको प्रभाव नयाँ पुस्तामा कसरी सर्छ भन्ने विषयलाई पनि उजागर गर्छ ।
फिल्मको अर्को विशेषता यसको ‘रियलिस्टिक’ प्रस्तुती रहेको बताइएको छ । अभिनेत्री शर्माले भन्नुभयो, “हामीले प्रायः फिल्ममा दुःख र सुखलाई ग्लोरिफाइ गर्छौँ तर यस फिल्मले वरिपरि भइरहेका सामान्य तर गहिरा घटनाहरूलाई देखाउँछ ।” दर्शकहरूले पात्रहरूसँग भावनात्मक रूपमा जोडिन सक्ने पनि उहाँले बताउनुभयो ।
फिल्ममा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको पनि उहाँले बताउनुभयो । निर्देशनदेखि लेखन, छायाङ्कन र सम्पादनसम्म महिला टिमको संलग्नताले आफूलाई काम गर्न सहज भएको अनुभव उहाँले साझा गर्नुभयो ।
उहाँले भन्नुभयो, “मलाई त यो फिल्ममा काम गर्न एकदमै सजिलो भयो । किनभने अहिलेसम्म काम गरेभन्दा फरक अनुभव गरेँ । फिमेलकै कथा अनि फिमेलले नै निर्माण गर्नुभएको फिल्ममा काम गर्दा भिन्न अनुभव गरेँ । डिरेक्टर मात्र फिमेल नभइ लेखक, सिनेमेटोग्राफर पनि फिमेल हुनुहुन्छ । महिलाको उपस्थितिले टिम राम्रो थियो । जसका कारणसहज वातावरणमा काम गर्न पाएँ ।”
पोखरामा करिब २८ दिन समय लगाएर छायाङ्कन गरिएको फिल्म मुख्यतः एउटै घर वरिपरि केन्द्रित छ, जसले परिवारभित्रको अन्तरङ्ग वातावरणलाई अझ जीवन्त बनाएको अभिनेत्री शर्माको भनाइ छ । लामो समयसम्म पोस्ट–प्रोडक्सनमा काम गरिएको यो फिल्म आफ्नो करियरकै विशेष अनुभव भएको उहाँले बताउनुभयो ।
शर्माले दर्शकलाई फिल्म हेर्न आग्रह गर्दै भन्नुभयो, “यो फिल्ममा काम गर्दा विल्कुल नयाँ अनुभव गरेँ, तर दर्शकहरुले पनि नयाँ र प्रेरणादायी अनुभव गर्नु हुनेछ ।”
उहाँका अनुसार फिल्मले समाजले महिला र पुरुषका लागि बनाइदिएको सीमित सोच ‘महिलाले यो गर्नुपर्छ, पुरुषले यस्तो हुनुपर्छ’ जस्ता संरचनामाथि प्रश्न उठाउँछ ।
निशा शर्मा, आँचल शर्मा र उषा रजकलगायतको अभिनय रहेको फिल्मले तीन महिलाबिचको सम्बन्धलाई सङ्केत गरेको छ ।
सहारा शर्माद्वारा लिखित तथा निर्देशित फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन् । निर्माताहरूमा सारा फाजिलात, सामीप्यराज तिमल्सेना, अनुप पौडेल रहेका छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् ।
छायाङ्कन लिन्ह डान गुयेन फान, प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरव कुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, भेषभूषा जानकी खडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा र पोस्ट–प्रोडक्सन सुपर भिजन आश्मा गौतमले सम्हालेका छन् ।
गौँथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सहनिर्माणमा बनेको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ । –नेपाल न्युज बैङ्क