चोलेन्द्रकी छोरी दाबी गर्ने महिला को हुन् ?

124

काठमाडौँ, ४ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत आइतबार सर्वोच्च अदालतमा हाजिर हुन जाने बताएपछि सर्वोच्च र जबरा निवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन भएका थिए ।

आइतबार बिहान ११ बजे सर्वोच्च पुग्छु भनेका जबरा बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएनन् । जबराले सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै आफूलाई सरकारले नै निवास बाहिर आउन नदिएको बताएका थिए ।

प्रधानन्यायाधीशको सरकारी निवास बाहिर पत्रकारहरू पनि आइतबार साँझपखसम्मै बसेका थिए । यसैक्रममा जबरा निवासबाट गाडी चढेर आएकी एक जना महिलाले पत्रकारहरूलाई प्रतिक्रिया दिइन् । आफू निलम्बित प्रधानन्यायाधीश जबराकी छोरी सुनिधि राणा भएको बताउँदै उनले सरकारको व्यवहारको कडा शब्दमा भत्र्सना गरेकी थिइन् ।

सरकारले राणा परिवारमाथि अन्यायमाथि अत्याचार गरेको, भित्रबाट बाहिर निस्कन नदिए गुनासो गर्दै न्यायालय जोगाउन जनता घरबाट निस्कन अपिलसमेत गर्न भ्याइन् । आत्मविश्वासका साथ सरकार र वरिष्ठ अधिवक्ताहरूविरूद्ध खनिएकी ती युवती जबराकी आफ्नै छोरी भने नभएको खुलेको छ ।

उनले आफू चोलेन्द्रको छोरी भएको बताए पनि चोलेन्द्रले बुझाएको सम्पत्ति विवरण फारमा उनको नाम उल्लखे छैन । छोराछोरीको विवरणमा सचिन्द्र शमशेर जबरा, सृष्टि राज्यलक्ष्मी राणा रावल र सम्बृद्धि राज्यलक्ष्मी राणा कुँवरको नाम उल्लेख छ ।

चोलेन्द्रको छोरी बताएकी सुनिधिको प्रतिक्रिया लिएको न्युज एजेन्सी नेपालले सोमबार विज्ञप्ति जारी गर्दै ‘आफू प्रधानन्यायाधीशको छोरी हुँ भनी भिडियोमा बोल्ने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको छोरी नभएको निष्कर्ष निकालेका छौँ,’ भनेको छ ।

न्युज एजेन्सी नेपालले विभिन्न मिडियालाई भिडियो, समाचार सेवा दिन्छ । उत्त संस्थाकी कार्यकारी प्रमुख कृष्णा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा गलत सूचना परेकाले माफी माग्दछौँ र जिम्मेवारी लिन्छौँ भनिएको छ ।

यसैक्रममा सोमबार शिलापत्र डटकमले ‘चोलेन्द्र शमशेरकी छोरी भनेर हिजो मिडियामा छाएकी युवती को हुन् ?’ भनेर समाचार लेखेको थियो । उक्त समाचारमा उल्लेख गरिएअनुसार चोलेन्द्रकी छोरी दाबी गरेकी सुनिधि दैलेखकी मीना जोशी हुन् ।

उनको घर दैलेखको चामुण्डा–बिन्द्रसैन नगरपालिका पर्ने र देवीराम जोशीका दुई छोरीमध्ये उनी जेठी भएको उक्त समाचारमा उल्लेख छ । शिलापत्रले यो समाचार लेखेपछि उक्त महिला सम्पर्कमा आएको र उनले आफू नाताले चोलेन्द्र शमशेरको नातिनी बुहारी भए पनि बोलीचालीमा बुबा भन्ने गरेको बताएको उल्लेख गरेको छ । उनले विवाहपछि श्रीमान्ले सुनिधि नाम दिएको पनि बताएकी छन् ।

उनले बताएअनुसार उनी चोलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुन् । शान्तिशमशेरका नाति बरदान शमशेर राणाकी श्रीमती भएको उनले बताएको शिलापत्रले उल्लेख गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...